काठमाडौं । नेपाल र भारतले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधताको जगेर्नाका लागि संयुक्त रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो।
मन्त्री चौधरीको सचिवालयका अनुसार भेटमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम, विपद् व्यवस्थापन, वन संरक्षण, जलवायु वित्त तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको थियो।
सो अवसरमा नेपालले हिमालय क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डालाई कोप–३१ को निर्णयमा समावेश गर्न भारतको समर्थन माग गरेको छ। साथै, जलवायु विज्ञान, पूर्वसूचना प्रणाली, अनुकूलन तथा वित्तीय सहयोगमा सहकार्य विस्तार गर्न मन्त्री चौधरीले आग्रह गर्नुभएको थियो।
संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ अधिवेशनमा प्रधानमन्त्री वालेन्द्र शाहले औपचारिक रूपमा प्रस्ताव गर्नुभएको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव कार्यान्वयनमा ल्याउन पनि भारतको सहयोग र समर्थन माग गरिएको छ।
भेटवार्तामा अवैध वन्यजन्तु व्यापार तथा चोरीसिकार नियन्त्रण, सीमापार वन्यजन्तुको आवागमन क्षेत्र संरक्षण र दिगो वन व्यवस्थापनका लागि प्राविधिक सहयोग तथा ज्ञान आदानप्रदान बढाउने विषयमा समेत छलफल भएको थियो।
भारतीय मन्त्री यादवले छलफलमा उठेका विषयमा सकारात्मक रहेको बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
दुवै देशले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।










Discussion about this post