महोत्तरी । तराई–मधेसको महान् धार्मिक तथा सांस्कृतिक पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी श्रद्धा र भक्तिपूर्वक पूजा गरिँदैछ। छठ पर्वका लागि विभिन्न नदी, पोखरी तथा जलाशयका किनारमा विशेष रूपमा सजाइएका घाटहरूमा व्रतालुहरूले विधिपूर्वक सूर्यदेवको पूजा गर्ने तयारी गरेका छन्।
गएराति खरना विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। यसका लागि घरघरमा ठेकुवा, भुसवा, मिष्ठान्नलगायतका परम्परागत प्रसाद तथा पूजा सामग्री तयार पारिएको छ। उखु, केरा, नरिवललगायतका सामग्रीसमेत पूजा गर्नका लागि घाटमा लगिने तयारी भइरहेको छ।
साँझपख नदी, पोखरी तथा जलाशयका किनारमा भक्तजनहरू भेला भई जातीय, वर्गीय तथा सामाजिक भेदभावभन्दा माथि उठेर सामूहिक रूपमा सूर्यदेवको पूजा आराधना गर्नेछन्। छठ पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म चल्ने यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
यसैबीच, छठ पर्वलाई व्यवस्थित र आकर्षक बनाउन विभिन्न स्थानमा छठघाट निर्माण तथा सरसफाइको काम तीव्र पारिएको छ। स्थानीय युवा, नागरिक समाज, जनप्रतिनिधि तथा विभिन्न युवा क्लबहरू घाट सजावट र व्यवस्थापनमा सक्रिय रूपमा जुटेका छन्। विभिन्न निकायको आर्थिक सहयोग तथा चन्दा सङ्कलनबाट प्राप्त रकम घाट निर्माण, सरसफाइ र व्यवस्थापनमा खर्च गरिएको छ।
छठ पर्व तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा श्रद्धा, निष्ठा, पवित्रता र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।










Discussion about this post