काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरी देशको प्रतिष्ठामा आँच पुर्याउने जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने क्रम बढिरहेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएको भन्दै गुनासो गरेका थिए।
सो अवसरमा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी गतिविधिमा संलग्न नेपालीलाई कारबाही गर्ने विषयमा नैतिक सङ्कट हुने गरेको बताएका थिए। राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन प्राप्त भए त्यस्ता व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो।
महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको प्रतिष्ठामा आँच पुर्याउने व्यक्तिमाथि कारबाही गर्न किन हिचकिचाउने भन्दै प्रश्न गरेका थिए। उनले नेपाली नागरिकलाई ठगी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशनसमेत दिएका छन्।
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।
आफ्नो औपचारिक भ्रमण सम्पन्न गरी गृहमन्त्री गुरुङ स्वदेश फर्किएका छन्।










Discussion about this post