काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
राखेपले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने जनाइएको छ। यद्यपि, प्रतियोगिताअन्तर्गतका केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुने राखेपले जनाएको छ।
प्रतियोगितामा ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ। सातवटै प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने राखेप सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताका खेल सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ स्थानमा सञ्चालन गरिनेछ।
प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १ हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
राखेपका अनुसार व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, टिम विधातर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सदस्यसचिव मेहताले बताए।










Discussion about this post