कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्ष जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भि.न.पा. ००१ ह ५२२ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ निवासी ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अथर्क खाती घाइते भएका छन्।
त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोक निवासी ४५ वर्षीय ललित सिंह ठकुराठी, उनका १८ वर्षीय छोरा हिक्मत ठकुराठी, ३६ वर्षीया सुशीला ठकुराठी, उनकी १६ वर्षीया छोरी आशिका ठकुराठी र सोही ठाउँकी २५ वर्षीया शोभा डाँगा पनि घाइते भएका छन्।
घाइतेमध्ये अटो चालक ललित सिंह ठकुराठी र स्कुटर चालकका छोरा अथर्क खातीको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्नपुर्णपोस्ट बाट सभार










Discussion about this post