काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली र पोखरा भिड्नेछन्। त्यस्तै, दोस्रो खेल बेलुका ५ बजे चितवन र काठमाण्डौबीच हुनेछ।
एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ। ५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ खेलमा नतिजाविहीन हुँदै ७ अंक जोडेको छ।
त्यस्तै, काठमाण्डौ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँदेखि सातौँ स्थानमा छन्।
पोखरा एभेन्जर्स भने ४ खेल खेल्दा पनि जितविहीन रहँदै अंकतालिकाको पुछारमा रहेको छ।
यसैबीच, हिजो कुनै खेल नभएको एनपीएलमा भोलि बुधबार भाइटीकाका दिन पनि खेल हुने छैन। भाइटीकाको भोलिपल्ट बिहीबार भने दुई खेल हुने तालिका छ। पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ।










Discussion about this post