कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित डिजिटल मार्केटिङ र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालित तालिममा डिजिटल मार्केटिङतर्फ २० र एआईतर्फ २० गरी ४० जना सहभागी भएका थिए ।
डिजिटल सुदूरपश्चिम प्रा.लि. र शिक्षा स्किल डेभलपमेन्ट प्रा.लि.को प्राविधिक सहयोगमा २० दिनसम्म तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरूलाई फेसबुक मार्केटिङ, युट्युब अप्टिमाइजेसन, ग्राफिक डिजाइनलगायत डिजिटल मार्केटिङका आधारभूत तथा व्यावसायिक विषयमा प्रशिक्षण दिइएको थियो ।
डिजिटल प्लेटफर्मको प्रयोगमार्फत आयआर्जन गर्न आवश्यक सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिमले युवालाई डिजिटल प्रविधिसम्बन्धी ज्ञान र सीप हासिल गरी रोजगारी तथा स्वरोजगारीका अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, एआईसम्बन्धी तालिम लिइरहेका युवा युवराज कलौनीलाई शिक्षा स्किल डेभलपमेन्ट प्रा.लि.ले रोजगारीसमेत दिएको छ । तालिममा सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्ने अवसरसँग जोडिएको यो पहलले सीपमूलक तालिमपछि रोजगारीका सम्भावना बढाउन सहयोग पुग्ने देखिएको छ ।
तालिम समापन कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख तथा सूचना शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो । त्यस्तै डिजिटल सुदूरपश्चिम प्रा.लि.का प्रोजेक्ट म्यानेजर कृष्ण कार्की र शिक्षा स्किल डेभलपमेन्ट प्रा.लि.का प्रोजेक्ट म्यानेजर हरिश पाठकको लगायतको पनि उपस्थिति रहेको थियो ।










Discussion about this post