काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षामा ४१८ वटा नयाँ सिट थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार थप गरिएका सबै सिट सरकारी शिक्षण संस्थालाई दिइएको छ। निजी कलेजहरूको सिट संख्या भने यथावत् राखिएको छ।
मन्त्री पोखरेलले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षा हासिल गर्ने अवसर विस्तार गर्न र विद्यार्थीलाई आफ्नै देशमा डाक्टर तथा नर्स बन्ने वातावरण तयार पार्न सिट वृद्धि गरिएको बताउनुभयो। सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर प्रदान गर्नु निर्णयको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

सिट वृद्धिसँगै सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पठनपाठन सुरु हुने मन्त्री पोखरेलले जानकारी दिनुभयो।
त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०–३० सिट थप गरिएको छ।
मन्त्री पोखरेलका अनुसार बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट थप गरिएको छ। यसबाट चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले स्वदेशमै थप अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।
सरकारी शिक्षण संस्थामा सिट विस्तारसँगै आर्थिक रूपमा कम शुल्कमा चिकित्सा शिक्षा हासिल गर्न चाहने योग्य विद्यार्थीलाई राहत पुग्ने सरकारको विश्वास छ।










Discussion about this post