ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको अन्तिम परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बाँकी रहेका सबै पदको मतपरिणाम आज रातिसम्म घोषणा गर्ने तयारी गरिएको छ। सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ भने केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ।
हाल खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहअन्तर्गतका केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा रहेको छ। धेरै उम्मेदवार र मत सङ्ख्या ठूलो भएकाले सबै पदको नतिजा सार्वजनिक गर्न समय लागेको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापतिमा पुष्पा भुसाल निर्विरोध चयन भएका थिए।
त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला तथा खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन्।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणनालाई तीव्रता दिएको छ। बाँकी पदको परिणामसमेत आजै सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको समितिले जनाएको छ।
सबै पदको मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण संरचना टुङ्गो लाग्नेछ।










Discussion about this post