काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेको छ भने उपत्यकाका प्रमुख नाका र बसपार्कमा यात्रुको भीड देखिन थालेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उक्त अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रु उपत्यकाबाहिरिएका हुन्।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि सार्वजनिक यातायातमा यात्रुको चाप बढेको हो।
उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष रहेको जनाइएको छ। घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा समेत चाप बढ्दै गएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायत नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। प्रमुख नाकामा सवारीसाधनको आवागमन बढेपछि ट्राफिक प्रहरीले यातायात व्यवस्थापन र यात्रुको सुरक्षामा निगरानी बढाएको छ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए।
उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना रोक्ने उद्देश्यले ट्राफिक प्रहरीले प्रमुख सडक तथा नाकामा निगरानी बढाएको हो।
“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबिसै घण्टा सडकमा खटिएको छ। हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने।
चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्दा यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र लगातार सवारी चलाउने समयजस्ता विषयमा ध्यान दिनुपर्ने काफ्लेको भनाइ छ। यात्रु र चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताए।
यातायात व्यवस्था विभागका अनुसार नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायत प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ। चाडपर्वमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला सुरक्षित र सहज यात्राका लागि सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।










Discussion about this post