काठमाण्डौ — चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार साउन र भदौ महिनामा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। यसले वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश पठाउने रकममा उल्लेख्य वृद्धि भएको देखाउँछ।
यसैबीच, चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ हजार १६३ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ रहेको थियो भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ थियो।
तथ्याङ्कअनुसार यस वर्ष अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ।










Discussion about this post