काठमाडौँ — नेपालको पुँजी बजारलाई समयसापेक्ष, व्यवस्थित र पारदर्शी बनाउन नयाँ धितोपत्र ऐन ल्याउनुपर्ने माग लगानीकर्ताहरूले गरेका छन्।
नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले करिब २० वर्ष पुरानो कानुनी व्यवस्थाले पछिल्लो समय विकसित पुँजी बजारका आवश्यकता पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।
उनका अनुसार डिम्याट, अनलाइन कारोबार, बुक बिल्डिङ, मार्जिन कारोबार, साइबर सुरक्षा तथा नयाँ वित्तीय उपकरणको विकास भए पनि तिनलाई प्रभावकारी रूपमा नियमन गर्ने कानुनी आधार अझै पर्याप्त छैन।
कँडेलले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको अधिकार तथा जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताए। साथै, इनसाइडर ट्रेडिङ, बजारमा हुने चलखेल, कृत्रिम मूल्य वृद्धि र अन्य गैरकानुनी कारोबार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
प्रस्तावित नयाँ ऐनमा गैरकानुनी लाभको तीन गुणासम्म जरिवाना, रकम जफत तथा पीडित लगानीकर्तालाई क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
संघले पुँजी बजारमा साइबर जोखिम नियन्त्रण, नियामक निकायको जवाफदेहिता र लगानीकर्ता हित संरक्षणलाई प्राथमिकतामा राखेर नयाँ धितोपत्र ऐन निर्माण गर्न सरकारसँग आग्रह गरेको जनाएको छ।










Discussion about this post