काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नवयुवाहरूले उठाएका जायज माग सम्बोधनमा विगतमा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
‘जेन्जी आन्दोलन’को एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले नवयुवाहरूको भावना सम्मान गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, सहज सेवा प्रवाह र सामाजिक सञ्जालको निर्वाध प्रयोगलगायतका माग सम्बोधन गर्नुपर्ने बताएका हुन्।
उनले तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभई नेपालमा दर्ता हुने व्यवस्था गर्दै नियमन गर्न खोजेको विषय स्पष्ट रूपमा बुझाउन नसक्दा सामाजिक सञ्जालमा अभ्यस्त नयाँ पुस्ता सडकमा आउन पुगेको दाबी गरे।
पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी आन्दोलनलाई हिंसात्मक बनाउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनका अनुसार यही नै जेन्जी आन्दोलनको वास्तविक भावनाको सम्मान गर्ने बाटो हो।
उनले संवेदनशील अवस्थामा नवयुवाहरूको वास्तविक भावनाको कदर गर्दै मुलुकमा सुशासनको प्रत्याभूति र विधिको शासन स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे।
महासचिव पोखरेलले एमाले नवयुवाहरूको भावनाको सम्मान गर्न र उनीहरूका जायज माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए। उनले एमाले हिजो पनि नवयुवाहरूको पक्षमा रहेको, आज पनि रहेको र भविष्यमा पनि रहने दाबी गरे।
गत वर्ष भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनालाई स्मरण गर्दै पोखरेलले आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै उनले घाइतेहरू तथा आफ्ना सन्तान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्।










Discussion about this post