काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार बिहान ९ बजे भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
छलफलपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिए ।
आङदेम्बेका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठ वटा हेलिकप्टर परिचालन गरिएको छ । उद्धार कार्यलाई तीव्रता दिन धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको उनले बताए ।
यस्तै, घाइतेको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
‘अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको उपचार गर्नु हो । सरकारले स्रोतसाधन परिचालन र बजेट व्यवस्थापनमा कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ, जसमा प्रतिपक्षको पूर्ण साथ रहनेछ,’ आङदेम्बेले भने ।
बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र उपलब्ध सबै संयन्त्रलाई अधिकतम परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
सरकारले सम्बन्धित मन्त्रालयलाई तत्काल क्रियाशील हुन निर्देशन दिइसकेको छ ।










Discussion about this post