काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
थारू कल्याणकारिणी सभाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गबाट समाधान खोजिनुपर्ने बताइन्।
सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष ‘टीकापुर विद्रोह, आन्दोलनका माग, मुद्दा एवं अबको निकास’ तथा ‘नेपालको संविधानको अन्तरवस्तुमा थारू समुदायका साझा सवाल र संशोधनको आवश्यकता’ विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारभित्रैबाट उठाउँदै आएको बताइन्। उनले थारू समुदायको अधिकार, पहिचान र न्यायका सवालमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने बताउँदै थारू समुदायका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।










Discussion about this post