महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–६, मुसेपानीस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गरिएको छ। दक्षिण कोरियामा रहेका युवाहरू तथा विद्यालयका पूर्वविद्यार्थीहरूको पहल र सहयोगमा अक्षयकोष स्थापना गरिएको हो।
गरिब, दलित तथा मुक्त कमैया परिवारका बालबालिका अध्ययनरत उक्त विद्यालयमा अक्षयकोष स्थापनाका लागि पूर्वविद्यार्थीहरूले २ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै, स्थानीय समाजसेवी तथा शिक्षक–शिक्षिकाबाट समेत सहयोग जुटाउँदा हालसम्म ५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको विद्यालयले जनाएको छ।
अक्षयकोष स्थापनामा सहयोग गर्ने दाताहरूको नामावली तथा विवरण समेटिएको शिलालेखसमेत अनावरण गरिएको छ। शिलालेखको अनावरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोष महत्वपूर्ण रहेको बताउनुभयो। आर्थिक रूपमा विपन्न, दलित तथा मुक्त कमैया परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अक्षयकोषले महत्वपूर्ण योगदान पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
विदेशमा रहेका युवाहरू, पूर्वविद्यार्थी, स्थानीय समाजसेवी तथा शिक्षक–शिक्षिकाले विद्यालयको विकासका लागि गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले विद्यालयको समग्र विकासका लागि सबै पक्षबीच निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो।
विद्यालयको भौतिक पूर्वाधार विकाससँगै आर्थिक रूपमा विपन्न विद्यार्थीको शैक्षिक निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले विद्यालयको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सभाध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसिंह पुजाराले गर्नुभएको थियो।










Discussion about this post