काठमाडौं । काठमाडौँका निश्चित स्थान तोकेर दुई दिनदेखि खाना पकाउने एलपी ग्यास बिक्रीवितरण गर्दै आएको सरकारले अब आफैं खुद्रा बिक्रेताको भूमिका निर्वाह नगर्ने भएको छ ।
नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरण हुने जनाएको छ । निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ ।
ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन निगमले उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । उद्योगीहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री हुने सिलिन्डरको संख्यासहितको विवरण हरेक दिन बिहान ९ बजेभित्र निगमलाई उपलब्ध गराउनुपर्नेछ ।
निगमले घरायसी प्रयोजनका लागि अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्नसमेत निर्देशन दिएको छ । साथै ग्यास ढुवानी तथा वितरणमा सुरक्षाको दृष्टिले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।
यसअघि ग्यास अभाव चर्किएपछि सरकारले काठमाडौँका विभिन्न स्थान तोकेर आफैं ग्यास बिक्री गर्न थालेको थियो । तर, तोकिएका केन्द्रमा उपभोक्ताको अत्यधिक भीड लाग्नुका साथै वितरण प्रणाली थप अव्यवस्थित भएको गुनासो आएपछि निगमले नियमित बिक्रेता प्रणालीमै फर्किने निर्णय गरेको हो ।










Discussion about this post