नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको अनुशासनहीनता र अराजकताप्रति असन्तुष्टि जनाउँदै पार्टीको विधि, विधान र प्रक्रियाविपरीत गतिविधि नगर्न नेता–कार्यकर्तालाई चेतावनी दिएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको विधि र विधानविपरीत गतिविधि गर्नेहरूलाई अनुशासनको दायरामा ल्याइने स्पष्ट पारे।
महाधिवेशनबाट निर्वाचित नेतृत्व परिवर्तनका लागि बाहिर भइरहेको चर्चा तथा हस्ताक्षर अभियानप्रति आपत्ति जनाउँदै ओलीले त्यसलाई ‘अराजकताको पराकाष्ठा’ को संज्ञा दिए। पार्टी नेतृत्व परिवर्तनका लागि निश्चित विधि, प्रक्रिया र समय हुने भन्दै उनले चिया पसल, क्यान्टिन वा अनौपचारिक बैठकमा बसेर नेतृत्व हटाउने चर्चा गर्नु उचित नभएको बताए।
उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पार्टीको औपचारिक प्रक्रिया बाहिरबाट हटाउने प्रयास गर्नु पार्टीको विधि र विधानविपरीत हुने उल्लेख गरे। बाह्य शक्ति र राजनीतिक विरोधीहरूबाट पार्टीमाथि प्रहार भइरहेको अवस्थामा आन्तरिक विवादमा अल्झिनु आत्मघाती हुने उनको भनाइ थियो।
ओलीले आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई अझ दृढ अनुशासनका साथ अघि बढाइने बताए। सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने, भ्रम फैलाउने तथा अराजक गतिविधि गर्ने प्रवृत्ति रोक्नसमेत उनले कार्यकर्तालाई आग्रह गरे।
उनले भने, ‘पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ।’
अध्यक्ष ओलीले कार्यकर्तालाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्य र नेतृत्वप्रति दृढ विश्वासका साथ अघि बढ्न आग्रहसमेत गरे।










Discussion about this post