कञ्चनपुर । कञ्चनपुरमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रत्येक वर्ष अगस्ट १२ तारिखमा विश्वभर मनाइने दिवसको अवसरमा बुधबार वेदकोट नगरपालिकामा वृक्षारोपण गरिएको हो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वेदकोट नगरपालिका–४ लिङ्गा क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै वातावरण संरक्षणमा युवाको भूमिका र सहभागिताबारे चर्चा गरिएको थियो।

वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार युवा सहभागितामार्फत वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा उत्थानशील युवा सञ्जालका प्रतिनिधि तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उत्थानशील युवा सञ्जाल वेदकोटकी संयोजक कामना जोशीले वातावरण संरक्षण तथा सामाजिक कार्यमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। युवाको नेतृत्व र सहभागितामा यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

कार्यक्रम डब्लूडब्लूएफ, वुमेन्स बैंक, एफसीए, निड्स नेपाललगायतका संघसंस्थाको समन्वयमा आयोजना गरिएको थियो।










Discussion about this post