कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापा सार्वजनिक सडकको मर्मतमा आफैं सक्रिय भएका छन्। वर्षाका कारण भत्किएका तथा विभिन्न कारणले टुटफुट भएका गाउँबस्तीका सडकमा रहेका सानातिना खाल्डाखुल्डी पुर्न उनी शनिबारदेखि आफैं सडक मर्मतमा खटिएका हुन्।
वडाका सार्वजनिक सडकमा रहेका सानातिना खाल्डाखुल्डी मर्मतका लागि वडाध्यक्ष थापाले व्यक्तिगत खर्चसँगै स्थानीय सहयोगी युवाहरूको सहकार्यमा काम अघि बढाएका छन्। सडक मर्मतका क्रममा उनी आफैं श्रमदानमा समेत खटिएका छन्।
वर्षातका कारण सडकमा खाल्डाखुल्डी बढ्दा स्थानीयको आवागमन असहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले तत्काल सहज आवागमनका लागि सानातिना सडक मर्मतको काम सुरु गरिएको वडाध्यक्ष थापाले बताए।
उनका अनुसार वडाभित्रका ठूला तथा व्यापक मर्मत आवश्यक पर्ने सडक भने वडा कार्यालयको बजेटबाट मर्मत गरिनेछ। तत्काल मर्मत गर्नुपर्ने साना सडकमा भने व्यक्तिगत लगानी र स्थानीय युवाको सहयोगमा काम अघि बढाइएको उनले बताए।
वडाका विभिन्न गाउँ तथा बस्ती जोड्ने सार्वजनिक सडकमा आवागमन सहज बनाउनुका साथै सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मर्मत अभियान सञ्चालन गरिएको वडाध्यक्ष थापाले बताए। सडक मर्मतमा वडा कार्यालयका कर्मचारीहरू र स्थानीयले सहयोग गरिरहेका छन् भने स्थानीय यज्ञराज पन्तले ट्र्याक्टर उपलब्ध गराएर सहयोग गरेका छन्।










Discussion about this post