महेन्द्रनगर — भीमदत्त नगरपालिका–१३ सोनापुरमा विपन्न दलित तथा आर्थिक रूपमा कमजोर परिवारका लागि २६ वटा आवासीय घर निर्माण कार्य सुरु गरिएको छ। नमुना बस्तीका रूपमा विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजना छिमेक समाज सेवा संस्था र भीमदत्त नगरपालिका को सहकार्यमा सञ्चालन भइरहेको हो।
शुक्रवार आयोजित कार्यक्रममा नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम ले निर्माण कार्यको औपचारिक शिलान्यास गरेका हुन्।
कार्यक्रममा बोल्दै नगरप्रमुख बोगटीले विपन्न तथा दलित समुदायलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्यका साथ योजना अघि बढाइएको बताए। उनले छिमेक संस्थासँगको सहकार्यले निर्माण कार्यलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै समयमै सम्पन्न गरिनेमा जोड दिए।
वडाध्यक्ष राम बहादुर बोहोरा ले नमुना बस्ती निर्माण अभियानलाई सफल बनाउन श्रमदानमार्फत सहयोग गर्न स्थानीयवासीलाई आह्वान गरेका छन्। प्रारम्भिक चरणमा सुरु गरिएको यस योजनालाई नगरस्तरबाट पूर्ण समर्थन प्राप्त भएको उनले बताए।
घर निर्माण सुरु भएसँगै स्थानीय बासिन्दामा उत्साह देखिएको छ। वर्षौंदेखि असुरक्षित घरमा बस्दै आएका परिवारहरू अब सुरक्षित आवासमा बस्न पाउने आशामा खुशी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा केशव विष्ट, एलबी कार्की लगायत जनप्रतिनिधि, संस्थाका प्रतिनिधि र स्थानीयवासीको उपस्थिति रहेको थियो।











Discussion about this post