काठमाडौँ: निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन्।
बिहीवार प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एक पटक गर्नुपर्ने बताए। मितव्ययिताको दृष्टिले दुवैको निर्वाचन एकैपटक उपयुक्त भए पनि वर्तमान कानूनी संरचनाले संयुक्त निर्वाचन गर्न सक्ने अवस्था नरहेको उनले बताए।
‘अब हामीसँग स्थानीय र प्रदेशको निर्वाचन गर्न धेरै समय छैन, १३(१४ महिना मात्रै हो, स्थानीय तहको निर्वाचन गर्न । प्रदेश सभाको मंसिरमा हुन्छ, निर्वाचन। स्थानीय तहको वैशाखमा हुन्छ’, उनले भने, ‘यो दुई वटालाई तानेर एकै ठाउँमा निर्वाचन गरियो भने मितव्ययी निर्वाचन हुन्छ । त्यो निर्वाचनलाई अहिले भइरहेको कानूनले सम्बोधन गर्न सक्दैन ।’
भण्डारीले हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको बताए। सो ऐनको लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षभन्दा बढी अघि नै सरकारलाई पठाइसकेको जानकारी दिए। विधेयक गृह मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको भन्दै उनले संसद्ले यथाशिघ्र छलफल गरी पारित गर्नुपर्नेमा जोड दिए।









Discussion about this post