भुवन भट्ट÷महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र २ बाट नेकपा एमालेका उम्मेदवार वचन बहादुर सिंहले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिँए सङ्गै नेता सिंह घरदैलो अभियानमा व्यस्त देखिन थालेका हुन् । क्षेत्र–२ का जनताको चाहना अनुरुप विकास निर्माणका काम अगाडी बढाउने प्रतिबद्धता सहित नेता सिंह मतदाता सामु मत माग्न व्यस्त देखिएका छन् ।
पछिल्लो समय नेता कार्यकर्ता तथा सुभइच्छुक सँग मतदाताको घरदैलौमा व्यस्त देखिनुभएका उनले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेदकोटमा घरदैलौ अभियानलाई निरन्तरता दिएका छन् ।
नेता सिंहले निर्वाचन क्षेत्रस्तरमा बहुउपयोगी रङ्गशाला निर्माणका लागि पहल गर्ने, लागुऔषध दुव्र्यसन जस्ता विकृति रोकथामका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए । नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट युवालाई रोजगारीमा संलग्न गराउनुका साथै समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, भेदभाव जस्ता समस्या समाधान गरी सहिष्णुता कायम गर्ने र सत्कार्यमा नवयुवालाई जिम्मेवार बनाइने उनले प्रतिवद्धता जनाए ।
तत्कालीन शुक्लाफाँटा आरक्षपीडितलाई क्षतिपूर्ति दिलाउनुका साथै प्रतिपरिवार १० कट्ठा या ६० लाख रुपियाँ उपलब्ध गराउन आवश्यक पहल गरिने नेता सिंहले बताएका छन् । विगतका आयोगबाट पाएका जग्गाधनी पुर्जाहरूलाई चलन भोगका आधारमा कित्ता मिलान गर्न कानुनी रूपमा व्यवस्था गरिने, मुक्त कमैयाका जग्गाधनी प्रमाण पुर्जालाई फुकुवा गराई धितो राखेर ऋण लिने व्यवस्थाको पहल गरिने उनले बताए ।
यसका साथै, तीन वटै पालिकामा निर्माणाधीन नगर चक्रपथलाई यथाशीघ्र निर्माण गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने, पर्यटकीय स्थल सिद्धसरोवर, लिङ्गेश्वर, वेदकोटधाम, मणिकाधाम, कृष्णसार संरक्षित क्षेत्र, बतासे झरना, ग्वासी समैजीसम्म धार्मिक पर्यटकीय जैविक मार्ग निर्माण गरिने प्रतिबद्धता सिंहले जनाए ।
त्यसै गरी वेदकोट–३ स्थित चौधर नदी, वेदकोट–४ स्थित बगुनखोलामा पक्की पुल, कृष्णपुर–७ स्थित पधनियाघाट र अत्तरिया जोड्ने नदीमा पक्की पुल निर्माण गरिने उनले वाचा गरेका छन् । कृषिजन्य उद्योग स्थापना, सञ्चालन र विकासमा जोड दिइनुका साथै मानव–वन्यजन्तु द्वन्द्वबाट हुने क्षति न्यूनीकरणका लागि वनसँग जोडिएका बस्ती क्षेत्रमा ‘मेसवायर’ जडानका लागि पहल गरिने उनले प्रतिवद्धता जनाए ।
मतदाताको घरदैलो अभियानलाई निरन्तरता दिदै आएका उनले क्षेत्र २ को विकासका लागि सुर्य चिन्हमा मतदान गर्न आग्रह समेत गरेका छन् ।









Discussion about this post