कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर–११ द्वारा ३ महिने निःशुल्क बेसिक कम्प्युटर कोर्ष सञ्चालन गरिने भएको छ। शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त कम्प्युटर कोर्षमा विद्यार्थीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान प्रदान गरिने वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले विद्यार्थी लक्षित कार्यक्रमअन्तर्गत उक्त कोर्ष सञ्चालन गर्न लागेको हो। निर्वाचित भएदेखि नै हरेक वर्ष विद्यार्थी केन्द्रित कार्यक्रमहरू गर्दै आउनुभएका वडा अध्यक्ष थापाले यस वर्ष पनि त्यसलाई निरन्तरता दिनुभएको छ।
यसैबीच, भीमदत्त नगरपालिका वडा नम्बर–११ मा एसइइ परीक्षा दिने विद्यार्थीहरूका लागि निःशुल्क तयारी कक्षा समेत सञ्चालन भइरहेको छ। तयारी कक्षामार्फत विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको वडा कार्यालयले जनाएको छ।
शिक्षासँगै सामाजिक क्षेत्रमा पनि वडा नम्बर–११ ले विभिन्न गतिविधिहरू गर्दै आएको छ। जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने, खेलाडीहरूलाई खेलकुद सामग्री तथा जर्सी वितरण गर्ने लगायत सामाजिक सुधारका कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ।
वडा अध्यक्ष थापाले आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले थप नयाँ कार्यक्रमहरू ल्याइने प्रतिबद्धता समेत जनाउनुभएको छ।










Discussion about this post