कञ्चनपुर । “सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मूल नाराका साथ कञ्चनपुरमा २८औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८२ मनाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा शुक्रबार बिहान महेन्द्रनगर बजारमा प्रभातफेरीसहित सचेतना कार्यक्रम सम्पन्न भएको हो। बजार परिक्रमा पश्चात् मदन चोकमा आयोजित कोण सभामा बोल्दै सरोकारवालाहरूले भूकम्पको जोखिम न्यूनीकरणका लागि सुरक्षित संरचना र नागरिक सचेतना अनिवार्य रहेको बताए।
कार्यक्रमलाई सफल पार्न कञ्चनपुरका अगुवा सामाजिक संस्थाहरू नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसिए, निड्स नेपाल, पेसवान, प्लान इन्टरनेसनल, प्राक्टिकल एक्सन र अक्सफार्म लगायतले सहयोग गरेका थिए।
कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) मदन कोइरालाले भूकम्पको समयमा हुने क्षति कम गर्न पूर्वतयारी र सुरक्षित भवन निर्माण आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए। उनले विपद् व्यवस्थापनका लागि सरकारी र गैरसरकारी निकायको साझा प्रयास आवश्यक रहेको बताए।
त्यस्तै, भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले नगरपालिकाले विपद् न्यूनीकरणका योजनाहरूलाई प्राथमिकतामा राखेको बताउँदै समुदाय स्तरमा सचेतना फैलाउन यस्ता दिवसले मद्दत पुग्ने उल्लेख गरिन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक खत्रीले विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय सदैव तयारी अवस्थामा रहेको प्रतिबद्धता व्यक्त गरे।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका गणपति लोकेन्द्र देव भट्टले भूकम्प सुरक्षाका लागि प्रविधि र तालिम प्राप्त जनशक्तिको भूमिकाबारे चर्चा गरे।कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले विपद् उत्थानशील समुदाय निर्माणमा सामाजिक संस्थाहरूले निरन्तर कार्य गरिरहेको बताए।
भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो। यस सचेतना कार्यक्रमले भूकम्पको जोखिम विरुद्ध साझा जिम्मेवारीको सन्देश दिएको आयोजकले जनाएको छ।










Discussion about this post