कञ्चनपुर। कञ्चनपुरमा माछा व्यवसायीहरूका लागि व्यवसाय सञ्चालन सिप विकास तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाअन्तर्गत मङ्गलबार एनएनएसडब्ल्यूए सभा हलमा एक दिने माछा व्यवसाय सञ्चालनसम्बन्धी तालिम आयोजना गरिएको हो।

तालिममा स्थानीय माछा व्यवसायीहरू, उद्यमी तथा सामुदायिक प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई माछा पालन, उत्पादन, बजार व्यवस्थापन, रोग नियन्त्रण, आय तथा उत्पादन वृद्धि, आपूर्ति शृंखला व्यवस्थापनलगायतका प्राविधिक तथा व्यवसायिक सीपहरूबारे विस्तृत जानकारी प्रदान गरिएको छ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा सन् २०२२ देखि निरन्तर कार्य गरिरहेको बताउनुभयो। उहाँले विपद्को उच्च जोखिममा रहेका २० जना माछा व्यवसायीहरूलाई लक्षित गरिएको यस तालिमले उनीहरूलाई दीगो व्यवसाय सञ्चालनका लागि आवश्यक सीप तथा ज्ञान प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार, “माछा पालनलाई दीगो आयस्रोतमा रूपान्तरण गर्दै समुदायमा रोजगारी, आय र पोषणका सुरक्षित विकल्पहरू सिर्जना गर्नु परियोजनाको मुख्य उद्देश्य हो।”

तालिमका प्रशिक्षक भीमराज भण्डारीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका माछा व्यवसायका लागि अत्यन्त उपयुक्त क्षेत्र रहेको उल्लेख गर्दै, स्थानीय कृषकहरू यो पेशामा सक्रिय भए पनि प्राविधिक ज्ञानको अभावले चुनौती व्यहोर्नुपरेको बताउनुभयो। “आजको तालिममा आवश्यक प्राविधिक पक्षहरूबारे विस्तृत छलफल गरियो, जसले आगामी दिनमा सहभागीलाई व्यवसाय प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत गर्नेछ,” उहाँले भन्नुभयो।
त्यसैगरी, सहभागी रञ्जु बम गिरीले तालिमले आफ्नो व्यवसायलाई व्यवस्थित ढंगले अघि बढाउन आवश्यक सीप र आत्मविश्वास प्रदान गरेको बताउनुभयो।
सुदृढ परियोजनाले जोखिममा रहेका समुदायहरूको जीविकोपार्जन सुरक्षित गर्न जलवायुमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्दै आएको छ। परियोजनाअन्तर्गत रानाथारू कृषि पर्यटन सहकारीमार्फत होमस्टे प्रवर्द्धन तथा तरकारी खेतीलाई सहयोग, सहकारी र कृषि समूहहरू मार्फत आयआर्जनका अवसर सिर्जना, व्यावसायिक तालिम र वित्तीय साक्षरतामार्फत समुदायको आर्थिक आधार सुदृढ बनाउने कार्य भइरहेको छ।










Discussion about this post