दार्चुला। दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–८ मौपानो निवासी गणेश दत्त जोशी हाल जीवन र मरणको दोसाँधमा हुनुहुन्छ।
भारतको दिल्लीमा मजदुरी गरी आफ्नो परिवारको गुजारा चलाउँदै आएका जोशीलाई केही हप्ता अघि डेंगु संक्रमण पुष्टि भएको थियो।डेंगु संक्रमण जटिल बन्दै गएपछि उहाँको शरीरका महत्त्वपूर्ण अंगहरू लिभर र मिर्गौला दुवैमा गम्भीर समस्या देखिएको छ।
जोशीको उपचार काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भइरहेको छ। अस्पतालले उहाँको अवस्था अत्यन्त नाजुक रहेको जानकारी दिएको छ। चिकित्सकहरूका अनुसार जोशीको ज्यान बचाउनका लागि लिभर प्रत्यारोपण अत्यावश्यक छ।
तर, नेपालमा लिभर प्रत्यारोपण सम्भव नभएकाले यसका लागि उहाँलाई भारत लैजानुपर्ने अस्पतालले सल्लाह दिएको छ। लिभर प्रत्यारोपणको खर्च अत्यन्तै महँगो हुने भएकाले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको मौपानी परिवार आर्थिक रूपमा यो खर्च जुटाउन असमर्थ भएको छ।
आर्थिक अभावका कारण एक मेहनती व्यक्तिको जीवन जोखिममा परेको छ। गणेश दत्त जोशीको ज्यान बचाउनका लागि परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण मनकारी व्यक्तिहरू, संघसंस्थाहरू र सहयोगी दाताहरूलाई अपिल गरेको छ।










Discussion about this post