काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा राजनीतिक वृत्तमा हलचल मच्चाउने खालको एक टिप्पणी गरेका छन् । सामाजिक अभियन्ता ईः ईःको एक आलोचनात्मक पोस्टमाथि प्रतिक्रिया जनाउँदै शाहले ईः ईःलाई नै नेतृत्व सम्हाल्न र देश चलाउन आह्वान गरेका हुन् ।
उनले आफू ईः ईःलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउन तयार रहेको र आफू कार्यकर्ताका रूपमा काम गर्न राजी रहेको समेत घोषणा गरेका छन् । सामाजिक सञ्जालमा ईः ईःले हालै एक पोस्ट मार्फत केपी ओली, बालेन्द्र शाह र दुर्गा प्रसाईं जस्ता पात्रहरूबीचको ‘फेस भ्याल्यू’मा वैचारिक भिन्नता देखिए पनि उनीहरूको ‘राजव्यवहारिक’ पक्षमा धेरै अन्तर नभएको धारणा राखेका थिए ।
ईः ईःले लेखेका थिए, ‘तिनीहरू आफ्नो अटलता र वर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन् । यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ ।’ उनले यसलाई ‘आम हिपोक्रिसीको ऐना’ समेत भनेका थिए ।
ईः ईःको यही पोस्टको कमेन्ट सेक्सनमा मेयर शाहले अप्रत्याशित रूपमा आफ्नो प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘८० वर्ष पुग्दा पनि आफू पीएम बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस्, देश चलाउनुस् भनिरहेको छु त, ई सर । सबै जना मिल्नुस्, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस् ! म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँ लाई मिलाएर ल्याउनुस्! म कार्यकर्ता बन्न तयार छु ।’
मेयर शाहले आफ्नो टिप्पणीमा देशलाई कसैले पनि नछोडेको भन्दै एक जना व्यक्ति एक्लैले देश बनाउन नसक्ने र यसरी देश नबन्नेमा जोड दिएका छन् । उनको यो आह्वानले युवा पुस्तालाई राजनीतिक नेतृत्वमा आउन प्रेरित गर्ने र स्थापित राजनीतिक दल तथा नेतृत्वका लागि एक किसिमको चुनौती खडा गरेको रूपमा हेरिएको छ ।











Discussion about this post