कञ्चनपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान तीव्र रूपमा चलाइएको छ।
जेनजी अगुवाहरूले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा राज्यको तर्फबाट भएको दमन र युवाहरूको हताहतीको घटनालाई लिएर तत्कालीन सरकारका प्रतिनिधिलाई कारबाही गर्न माग गरेका हुन्। उक्त घटनाको छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जेनजी अगुवाहरूको अडान छ।
जेनजी अगुवा रक्षा बमले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।” उनले “हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्” भन्दै, “मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ” भनेर ओलीप्रति लक्षित गरेकी छन्।
अर्का जेनजी अगुवा सुदन गुरुङले अभियानलाई थप बल दिँदै सामाजिक सञ्जालमा “डु अर डाई फर द नेसन। लेट् द ट्रेन्ड बिगिन।” भनी आह्वान गरेका छन्। उनले आफ्नो पोस्टमा तत्कालीन गृहमन्त्री रमेश लेखक र केपी ओली दुवैको तस्बिर राखेर उनीहरूलाई पक्राउ गर्न माग गरेका छन्।
यस ट्रेन्डलाई अन्य जेनजी अभियान्ता र सर्वसाधारणले पनि पछ्याउँदै गएका छन्। यो अभियानले तत्कालीन सरकारका अन्य प्रतिनिधिहरूमाथि पनि दबाब सिर्जना गरेको छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिनुपर्ने भन्दै पोस्ट गरिरहेका छन्।
जेनजीको पहिलो दिनको प्रदर्शनमा विद्यार्थीहरूको बर्बरतापूर्वक हत्या भएको भन्दै, जेनजी अगुवाहरूले उक्त घटनाको सत्य-तथ्य छानबिन गरी तत्कालीन सरकारका दोषी प्रतिनिधिलाई पक्राउ गर्न जोडदार माग गरिरहेका छन्।










Discussion about this post