किशोर तामाङ : कञ्चनपुर भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनका क्रममा भएको आगजनीले पुनर्वास नगरपालिकाको कार्यालय जलेर ठूलो क्षति पुर्यायो । कार्यालय सञ्चालन ठप्प बनेको यस्तो कठिन समयमा पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिको बस्तीका समाजसेवी तथा युवा व्यवसायी दाउत तामाङले सामाजिक उत्तरदायित्व वहन गर्दै महत्वपूर्ण सहयोग गरेका छन् । दाउत निर्माण सेवा प्रालिका सञ्चालक तामाङले बिहीबार नगरपालिकामा पुगेर चार थान कम्प्युटर, दुई थान प्रिन्टर, दुई थान टिन दराज र दुई थान टेबल हस्तान्तरण गरेका हुन् ।
सामग्री बुझ्दै नगर प्रमुख तोय प्रसाद शर्माले तामाङको सहयोगलाई “प्रशंसनीय र उदाहरणीय” भन्दै अन्य समाजसेवी र संघसंस्थालाई पनि यस्तै योगदानका लागि आह्वान गरे । उनले भने, “दाउत तामाङले दिएको सहयोगले नगरको सेवा सञ्चालनमा नयाँ ऊर्जा थपिएको छ । यो योगदानले समाजलाई प्रेरित गर्नेछ ।” सहयोग हस्तान्तरणपछि तामाङले भने, “मेरो पुनर्वास म बनाउँछु भन्ने भावनासहित यो सहयोग गरेको हुँ । यो सुरुवात मात्र हो, आवश्यक परे भविष्यमा पनि हात बढाउन तयार छु ।”

उनले आफ्नो पहललाई सम्भव बनाउन साथ दिने किशोर तामाङ, महेश विक्रम शाही, यज्ञ खड्का, खगेन्द्र ओझा, रविन्द्र तामाङ र बुबा मनु बमजम तामाङलाई धन्यवाद ज्ञापन गरे । भौतिक क्षतिको कारण संकटमा परेको पुनर्वास नगरपालिकामा दाउत तामाङको सहयोग आशा र पुनःस्थापनाको उर्जा बनेको छ ।










Discussion about this post