कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकाशित हुने जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले वार्षिकोत्सव मनाएको छ । जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले १३ औँ वार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो ।
जनसरोकार पोस्ट दैनिकका प्रकाशक तथा प्रधान सम्पादक राजेन्द्र प्रसाद अवस्थीले यस पटकको वार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासङ्घ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रूपमा पाठक वृन्दसमक्ष ल्याउन सफल भएको थियो ।
कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठक वृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने प्रतिज्ञा गरेका छन् ।
प्रधान सम्पादक राजेन्द्र प्रसाद अवस्थीले नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीलाई ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले जनसरोकार पोस्ट राष्ट्रिय दैनिकले वार्षिकोत्सवको अवसरमा पत्रकारको हकहित, कल्याणका लागि गरेको सहयोगले सङ्कटमा पर्ने पत्रकारलाई सहयोग पुग्ने बताए ।
जनसरोकार पोस्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोग गरी प्रोत्साहन गर्नु भएको छ । वार्षिकोत्सवको अवसरमा हरेक वर्ष जनसरोकार पोस्ट दैनिकले विविध सामाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ ।










Discussion about this post