कञ्चनपुर – कुनै समय शैक्षिक गुणस्तरमा निकै पछाडि परेका वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयले पछिल्ला तीन वर्षमा शैक्षिक नतिजामा ऐतिहासिक सुधार गरेका छन्। विगत चार वर्षअघि कक्षा १२ को नतिजा पाँच प्रतिशत मात्र रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको छ ।
वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक अवस्था २०७८ सालमा अत्यन्तै कमजोर थियो। त्यतिबेला कक्षा १२ को परीक्षामा सहभागी ५०९ जना विद्यार्थीमध्ये २८ जना मात्रै ‘सी’ ग्रेडमा उत्तीर्ण भएका थिए। त्यस वर्ष तीनवटा विद्यालयको नतिजा त शून्य नै रहेका थिए। उक्त निराशाजनक अवस्थालाई सुधार गर्न नगरपालिकाले २०७९ सालदेखि विशेष अभियान चलाएको थियो।
नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चालेका कदमहरूले हरेक वर्ष सकारात्मक नतिजा देखाएको छ। नगरप्रमुख भोजराज बोहराका अनुसार, २०७९ सालमा उत्तीर्ण दर १० प्रतिशत पुगेको थियो। यो सफलतालाई निरन्तरता दिँदै २०८० सालमा ३५० जना विद्यार्थीमध्ये १०३ जना अर्थात् २९.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए।
पछिल्लो परीक्षा, २०८१ सालमा, यो सुधारले नयाँ उचाइ लियो। ४२१ जना विद्यार्थीमध्ये २१५ जना अर्थात् ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। उत्तीर्ण हुने विद्यार्थीमध्ये १७ जनाले ‘ए’ ग्रेड ल्याएका छन् भने ५९ जनाले ‘बी’ ग्रेड, ११६ जनाले ‘बी प्लस’ र २० जनाले ‘सी’ ग्रेड ल्याएका छन्।
नगर प्रमुख बोहराले यो सफलताका पछाडि नगरपालिकाको निरन्तरको प्रयास रहेको बताए। ‘हामीले तीन वर्षमा धेरै मेहनत गर्यौं। हाम्रो प्रयासपछि अहिले गुणस्तरमा उल्लेख्य सुधार भएको छ,’ नगरप्रमुख बोहराले भने। उनले २०७९ सालदेखि कक्षा १० र १२ का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्न प्रत्येक विद्यालयलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिए।
नगरपालिकाको यो सफल प्रयासले सामुदायिक विद्यालयको शैक्षिक भविष्य उज्ज्वल बनाउन सकिने सन्देश दिएको छ। पाँच प्रतिशतबाट ५१ प्रतिशतसम्मको यो यात्राले सही नीति र निरन्तरको लगन भए असम्भव केही छैन भन्ने प्रमाणित गरेको छ।










Discussion about this post