कञ्चनपुर । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट बिस्तारै दक्षिणतर्फ सर्ने क्रममा रहेकाले आउँदा दिनमा मनसुनी गतिविधि केही कमजोर हुने संकेत देखिएको छ । यद्यपि, बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न भागमा वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, मनसुन पूर्ण रूपमा निष्क्रिय नभइसकेकाले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज बिहानैदेखि देशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसोभर देशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ भने तराईका अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति पनि कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा मौसममा बदली कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी इलाकाका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षाका कारण नदीनालामा पानीको बहाव बढ्न सक्ने, सडक यातायातमा सामान्य अवरोध आउन सक्ने तथा भिरालो भूभागमा पहिरोको सामान्य जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको हो ।










Discussion about this post