कञ्चनपुर। मनसुनलाई लक्षित गरी पूर्वतयारी र पूर्वकार्यसम्बन्धी संयन्त्रहरूको परीक्षण गर्न पुनर्वास नगरपालिकामा कृत्रिम अभ्यास (टेबलटप सिमुलेसन) सम्पन्न भएको छ।
मर्सीकोर नेपाल, कोकाकोला फाउन्डेसन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लु) को साझेदारीमा सञ्चालित ‘सान’ परियोजनाको आयोजना र पुनर्वास नगरपालिकाको समन्वयमा भएको यो कार्यक्रम नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको मुख्य उद्देश्य विपद् व्यवस्थापनका लागि नगरपालिका र सम्बद्ध संस्थाहरूको तयारी कत्तिको छ भनेर परीक्षण गर्नु थियो। कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वकार्यको महत्त्वमाथि छलफल भएको थियो।
राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्सँग लड्ने क्षमताको मूल्याङ्कन गर्न यस्ता अभ्यासहरू आवश्यक रहेको बताए। उनले भने, “यसले हामीलाई सुधार गर्नुपर्ने पक्षहरू अझ स्पष्ट रूपमा पहिचान गर्न मद्दत गर्छ।”
त्यसैगरी नगर प्रमुख तोयप्रसाद शर्माले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पूर्वकार्यको महत्त्वमाथि प्रकाश पार्दै यसले सम्भावित जोखिमहरूलाई समयमै न्यूनीकरण गर्न सही दिशानिर्देश गर्ने बताए। साथै उनले पूर्वअनुमान र पूर्वकार्यले ठूलो क्षतिलाई कम लगानीमै कम गर्न सक्ने बताए।
मर्सी क्रप्सका सिनियर प्रोग्राम कोअर्डिनेटर मनिस ढुङ्गेलले दोदा नदीको हकमा पर्याप्त सूचकहरू कसरी निर्धारण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।
कार्यक्रमका संयोजक देवराज बडुले विपद्को एकीकृत व्यवस्थापनका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको र भविष्यमा सबै एकजुट भएर पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिए।
यस अभ्यासले पुनर्वास नगरपालिकामा मनसुनका बेला आउन सक्ने विपद्को पूर्वतयारीलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।










Discussion about this post