कञ्चनपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुदृढ परियोजना अन्तर्गत, भीमदत्त नगरपालिका, वडा नं.–१८, नेपाली सेना तथा उत्थानशील युवा सञ्जालको सहकार्यमा ईको पार्कमा विभिन्न जातका बिरुवा रोपिएका छन्।

यसै क्रममा, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले भीम वाटिकामा नगर प्रहरी, फोहर व्यवस्थापन कर्मचारी, एनएनएसडब्ल्यूएका प्रतिनिधि तथा ५० जना युवाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरूको संरक्षण गर्ने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रम अन्तर्गत गत वर्षदेखि ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न लागिएको छ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले ईको सिस्टमको संरक्षण आवश्यक भएको बताउँदै, यसबाट जलवायु परिवर्तनको असर कम गर्न सकिने तर्क गर्नुभयो। उहाँले सरकारले सन् २०३० सम्ममा तीन करोड बिरुवा रोप्ने नीति लिएको बताउँदै एनएनएसडब्ल्यूएले यही उद्देश्य अनुरूप काम गरिरहेको जानकारी दिनुभयो।
भीमदत्त नगरपालिकाका उप-मेयर निलम जोशी लेखकले बजारको मुटुमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन निरन्तर रूपमा भइरहेको उल्लेख गर्दै, वृक्षारोपणसँगै रोपिएका विरूवाहरूको संरक्षण पनि आवश्यक हुनेमा जोड दिनुभयो। उहाँले ईको पार्कको व्यवस्थापनका लागि पालिकाले बजेट विनियोजन गरेर काम अघि बढाउने पनि प्रतिवद्धता जनाउनुभयो।

भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले ईको पार्क व्यवस्थापन कार्यमा डीसीएको गिफ्ट सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो। उहाँले वडाको बजेट र संस्थाको सहयोग मात्र पर्याप्त नहुने तर्क गर्नुभयो। उहाँले स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान नपुगेको दुखेसो गर्दै, यसको व्यवस्थापन तथा संरक्षणका लागि सबैको चाँसो आवश्यक हुनेमा जोड दिनुभयो।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले ईको पार्कमा गत वर्षझैँ यस वर्ष पनि वृक्षारोपण कार्य गरिएको बताउनुभयो। उहाँका अनुसार यस अन्तर्गत फलफूल र फूलका विरुवा रोपिएका छन्, जसले बजारको सौन्दर्य बढाउनेछ साथै, पार्कमा वाक र व्यायाम गर्न सहज हुने गरी ट्र्याकहरू खोलिएकाले यो स्वास्थ्यका लागि पनि लाभदायी हुनेछ।
ईको पार्क व्यवस्थापन समितिका अध्यक्ष बिमल खडायतका अनुसार, ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापनका लागि निरन्तर प्रयास भइरहेको छ। उहाँले ईको पार्क व्यवस्थित र हराभरा बनेमा यसबाट स्थानीय मात्र होइन, सिंगो भीमदत्त नगरपालिकाका बासिन्दाले लाभ लिन सक्ने उल्लेख गर्नुभयो।

वातावरणीय चुनौतीहरूलाई सामना गर्न यस्ता सक्रियता र साझा प्रयासहरू आवश्यक छन्, जसले हाम्रो शहर र वातावरणलाई हरियालीले भरिपूर्ण, स्वस्थ र दिगो बनाउन भुमिका खेल्नेछ।










Discussion about this post