बैतडी । जिल्ला सदरमुकामस्थित ऐतिहासिक कृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी भइरहेको छ। भाद्र ३१ गते मनाइने जन्माष्टमीको अवसरमा मन्दिरमा विशेष पूजापाठ र भजनकीर्तनको आयोजना गरिनेछ। पर्वको भोलिपल्ट अर्थात् भदौ १ गते डुलगढीदेखि गोठालापानी हुँदै साहिलेक छेलासम्म परिक्रमा गर्ने कार्यक्रम पनि तय भएको छ।
यो कृष्ण मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनको एक महत्त्वपूर्ण साक्षी पनि हो। वि.सं. १९९७ सालमा अमर सहिद दशरथचन्दको शहादतपछि उहाँका अनुयायी तथा बैतडीका चेतनशील व्यक्तित्वहरू यसै मन्दिरमा भजनकीर्तनको बहानामा भेला भई राणाशासनविरुद्ध रणनीति तयार पार्ने गर्दथे। त्यस समयमा मन्दिर आसपास नै बैतडीको मुख्य प्रशासनिक केन्द्र रहेकोले यसले धार्मिक तथा आध्यात्मिक अभियानमार्फत जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
मन्दिर परिसरमा रहेका केही अत्यन्तै दुर्लभ ढुंगाका मूर्ति र शिलापत्रहरूले यसको ऐतिहासिकतालाई थप प्रमाणित गर्छन्। तीमध्ये एउटा स्लेट (स्थानीय भाषामा ‘पात्थर’) मा लेखिएको शिलापत्र विशेष महत्त्वपूर्ण छ। यो शिलापत्र पहिले मन्दिर नजिकै रहेको मालपोत कार्यालयको पीपल चौतारामा राखिएको थियो। मालपोत कार्यालयको पुनर्निर्माणका क्रममा यसको संरक्षणका लागि अहिले कृष्ण मन्दिरमा राखिएको छ।
बैतडी जिल्लामा यस प्रकारका थुप्रै ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाहरू छन्, जसको खोजी र प्रचारप्रसार हुन बाँकी छ। यी सम्पदाहरूको संरक्षण र संवर्द्धनका लागि नागरिकस्तरबाटै पहलकदमी गर्न सकेमा भावी पुस्ताका लागि हाम्रा पुर्खाको गौरवगाथा एउटा अमूल्य उपहार हुनेछ।
(यो समाचार स्थानीय उद्धव सिहंले दिएको जानकारी आधारमा तयार गरिएको हो।)












Discussion about this post