कञ्चनपुर – वेदकोट नगरपालिकामा वर्षाको निगरानीका लागि नागरिक वैज्ञानिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्मार्ट परियोजनाको आयोजनामा भएको यस कार्यक्रममा विपद् पूर्वतयारी र प्रारम्भिक चेतावनी प्रणालीलाई सुदृढ बनाउन नागरिक वैज्ञानिकहरूको भूमिकामाथि विशेष जोड दिइएको छ।

कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले अध्यक्षता गर्नुभएको थियो। नगर उप–प्रमुख तुलसी जोशी र नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरु विशिष्ट अतिथि रहनुभएको थियो।

स्मार्ट परियोजना अन्तर्गत वेदकोट नगरपालिकाका २३ जना नागरिक वैज्ञानिकलाई वर्षा गेजको प्रयोग, मापन प्रविधि, तथ्यांक संकलन र प्रतिवेदन प्रणालीबारे तालिम दिइएको छ। उनीहरूले व्यवहारिक अभ्यासमार्फत यी सीपहरू सिकेको एनएनएसडब्लुएका पूर्व सूचना तथा पूर्व कार्य अधिकृत भोजराज भट्टले बताउनुभयो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले नागरिक वैज्ञानिकको भूमिकाको प्रशंसा गर्दै स्थानीय स्तरमा विपद्को सामना गर्न र त्यसको जोखिम कम गर्न नागरिक वैज्ञानिकहरूको योगदान अपरिहार्य रहेको बताए। उनले नागरिक वैज्ञानिकले संकलन गरेको सही तथ्यांकले समयमै पूर्वतयारी गर्न र समुदायलाई सुरक्षित राख्न ठूलो मद्दत गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले विपद् व्यवस्थापनमा नागरिक सहभागिताको महत्त्वमाथि प्रकाश पार्दै यो परियोजनाले नगरपालिकाको विपद् व्यवस्थापन क्षमतालाई थप मजबुत बनाएको बताए। उनले नागरिक वैज्ञानिकहरूले संकलन गरेको तथ्यांकलाई योजना बनाउन र जनतालाई सुरक्षित राख्न प्रयोग गरिने उल्लेख गर्दै यसलाई समुदायको सुरक्षाका लागि एक महत्त्वपूर्ण कदम भएको बताए।
कार्यक्रममा डिसिएका म्यानेजर दिनेश गुरुङ र आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतम भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो। एनएनएसडब्लुएका सुदृढ परियोजना संयोजक राजकुमार सुनारले कार्यक्रमको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउनुभयो।

त्यस्तै कार्यक्रममा स्मार्ट परियोजनाका फिल्ड अफिसर बबिता बोहराले स्मार्ट परियोजनाको उद्देश्य र यसको आगामी योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो। उनले यो परियोजनाले वेदकोट नगरपालिकामा बाढी र खडेरी जस्ता समस्याको दीर्घकालीन समाधानमा सहयोग पुर्याउने आशा व्यक्त गरिन्।
स्मार्ट परियोजना वेदकोट नगरपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसिए, र आइएचआरआर को साझेदारीमा सञ्चालित छ।










Discussion about this post