कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका युवा उद्यमी तेज बहादुर चन्द औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सदस्यमा नियुक्त भएका छन्। केन्द्रीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस महत्त्वपूर्ण पदमा उनको नियुक्ति भएको हो। यस नियुक्तिलाई सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ, किनभने कतिपय उद्योगी तथा व्यवसायीहरूका अनुसार यो बोर्ड सदस्य पद यस क्षेत्रले पहिलो पटक पाएको हो।
कञ्चनपुरको महेन्द्रनगरका स्थायी बासिन्दा चन्द सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका सञ्चालक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्यसमेत हुन्। देशकै औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको जिम्मेवारी पाएसँगै उनीमाथि राष्ट्रियस्तरमा औद्योगिक विकासको नेतृत्व गर्ने अवसर आएको छ।
मन्त्रालयले चन्दलाई सुदूरपश्चिम मात्र नभई समग्र देशकै औद्योगिक वृद्धि र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने क्षमतावान उद्यमीको रूपमा मूल्यांकन गरेको छ। राजधानी काठमाडौँको सुविधा छाडेर केही वर्षअघि आफ्नै मातृभूमि सुदूरपश्चिममा औद्योगिक विकासको सपना बोकी कञ्चनपुर फर्किएका चन्दले आफूलाई प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक र निर्भिकताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आफ्नो जिम्मेवारीअनुसार देशको औद्योगिक वृद्धि विकास गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र आर्थिक समृद्धिका कार्यक्रम सञ्चालन गर्ने युवा उद्यमी चन्दको संकल्प रहेको छ। उनको यो नियुक्तिले सुदूरपश्चिम प्रदेशमा थप औद्योगिक लगानी भित्र्याउन र यस क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।










Discussion about this post