आजको युग विज्ञान, प्रविधि र भौतिक विकासको युग हो। मानव सभ्यताले आर्थिक, भौतिक र प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। तर, यस्ता समृद्धिहरूको साथसाथै समाजमा गम्भीर समस्याहरू पनि जन्मिरहेका छन्, जसले त्यो समृद्धिमा दाग लगाइरहेका छन्। तीमध्ये सबैभन्दा खतरनाक र व्यापक समस्या हो – लागुपदार्थ दुर्व्यसन। यो केवल व्यक्तिगत जीवन मात्र होइन, समग्र समाज र राष्ट्रको स्थायित्व, विकास र भविष्यमाथि नै गम्भीर खतरा बनिरहेको छ। यस कारण यसलाई समृद्ध समाजको कलङ्क भन्नु अत्यन्त उपयुक्त हुन्छ।
लागुपदार्थ भन्नाले शरीर र मस्तिष्कमा असर पुर्याउने, सोच्ने, बुझ्ने, र व्यवहारमा परिवर्तन ल्याउने रसायनजन्य पदार्थहरूलाई जनाइन्छ। यसमा चरेस, गाँजा, ब्राउन सुगर, हिरोइन, कोकिन, एलएसडी, स्पास्मो, डाइजेपाम, याभा, अफिम, सिगरेट, रक्सी, तथा यस्तै अन्य नशालु औषधिहरू पर्दछन्। यिनको अत्यधिक वा गलत प्रयोगले मानिस शारीरिक, मानसिक, सामाजिक तथा नैतिक दृष्टिले पतनतर्फ जान्छ।
आज विशेषगरी युवापुस्ता लागुपदार्थ दुर्व्यसनको सिकार बनिरहेका छन्। विद्यालय, कलेजका छात्रछात्रा, बेरोजगार युवा, अनि कतिपय पेशागत जीवन बिताइरहेका व्यक्तिहरू पनि यस दुर्व्यसनको जालमा फसिरहेका छन्। यस दुर्व्यसनले शरीर कमजोर बनाउँछ, स्मरणशक्ति हराउँछ, मानसिक रोग देखा पर्छ, र अन्ततः मानिसको ज्यानसमेत जान सक्छ। परिवारमा तनाव, झगडा, हिंसा, सम्बन्ध विच्छेद, आर्थिक भार आदि समस्या उत्पन्न हुन्छन्। सामाजिक दृष्टिले हेर्दा, चोरी, लुटपाट, बलात्कार, हत्या, सडक दुर्घटना, झैँझगडा र अराजकता जस्ता घटनाहरू बढ्दै जान्छन्। राष्ट्रको तर्फबाट हेर्दा भने कार्यक्षमता ह्रास, उत्पादक जनशक्तिको नाश, अपराध वृद्धिलगायतका कारण देशको विकास अवरुद्ध हुन्छ।
यस दुर्व्यसनका धेरै कारणहरू छन्। साथीसंगीको दबाब, अज्ञानता, मानसिक तनाव, पारिवारिक समस्या, बेरोजगारी, दिशाहीनता, अभिभावकीय ध्यानको अभाव, प्रविधिको दुरुपयोग तथा सरकारी नियन्त्रणको कमजोरीजस्ता कारणहरूले लागुपदार्थको दुर्व्यसन झनै बढाउँदै लगेका छन्।
लागुपदार्थ दुर्व्यसनको नियन्त्रण एक व्यक्तिको मात्र होइन, समग्र समाज र राष्ट्रको सामूहिक प्रयासमा निर्भर हुन्छ। यसको नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक छ। विद्यालय, कलेज, टोल, मन्दिर, क्लब, रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल आदिमार्फत लागुपदार्थको नकारात्मक असरबारे सचेतना फैलाउन सकिन्छ। शिक्षा प्रणालीमा सुधार गर्दै नैतिकता, आत्म-नियन्त्रण, जीवन उपयोगी सीप, परामर्श, मार्गदर्शनलगायत विषयहरू समावेश गर्नु आवश्यक छ। लागुपदार्थ उत्पादन, तस्करी, ओसारपसार र विक्रीमा संलग्नहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ। लत लागेको व्यक्तिहरूलाई उपचार, मानसिक परामर्श, सामाजिक पुनर्स्थापना आदि सेवा सहज र निःशुल्क रूपमा उपलब्ध गराउनु पर्छ। अभिभावक र समुदायले पनि आफ्नो भूमिका निर्वाह गर्दै सन्तानको गतिविधि, साथी, व्यवहार, मनस्थिति आदिमा चासो राख्नुपर्ने समय आएको छ। लागुपदार्थ दुर्व्यसन कुनै सानो समस्या होइन।
यो व्यक्तिगत चरित्रको पतन मात्र नभई, राष्ट्रको मेरुदण्ड बनेको युवाशक्तिको बिनाश हो। हामी जतिसुकै विकासको कुरा गरौँ, जतिसुकै भौतिक समृद्धि हासिल गरौँ – जबसम्म समाज लागुपदार्थको कलङ्कबाट मुक्त हुँदैन, त्यो समृद्धि केवल भ्रम मात्र हुनेछ। यस समस्याबाट उन्मुक्ति पाउनका लागि सम्पूर्ण समाज — सरकार, परिवार, विद्यालय, मिडिया, र स्वयं युवापुस्ताले एकजुट भएर यसविरुद्ध लड्नुपर्ने समय आएको छ। “स्वस्थ जीवन, समृद्ध समाज” भन्ने लक्ष्य साकार पार्न लागुपदार्थ दुर्व्यसनको अन्त्य अनिवार्य शर्त हो।










Discussion about this post