कञ्चनपुर । नेपाली साहित्यको श्रीवृद्धिका लागि कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना गरिएको छ। अग्रज लेखक, साहित्यकार र साहित्यानुरागीहरूको पहलमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको नेपाली साहित्यमा पुर्याएको योगदानलाई जीवन्त राख्न र नेपाली भाषा, संस्कृति तथा साहित्यको उत्थानका लागि यो प्रतिष्ठानको स्थापना भएको हो।
साहित्यकार रामचन्द्र नेपालको निवास, त्रिभुवन बस्ती पुनर्वासमा जेठ २४ गते सम्पन्न भेलाले प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो। यस भेलाले प्रतिष्ठानका परिकल्पनाकार कविवर दीनानाथ बरालको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ।
तदर्थ समितिमा रामचन्द्र नेपाल, दोजराज घिमिरे, राधिका कोइराला, गौरव शर्मा, हरिप्रसाद अधिकारी, लक्ष्मीप्रसाद पौडेल, नारायण प्रसाद अर्याल, र पदम प्रसाद शर्मा रहनुभएको छ। यस समितिलाई छ महिनाभित्र प्रतिष्ठानको विधान तयार गरी विधिवत् रूपमा दर्ता प्रक्रिया पूरा गर्ने र विधान बमोजिम प्रथम केन्द्रीय सम्मेलन गर्ने जिम्मेवारी तोकिएको छ।
कार्यक्रमबारे जानकारी दिँदै लक्ष्मीप्रसाद पौडेलले भेलामा उपस्थित व्यक्तित्वहरू दीनानाथ बराल, रामचन्द्र नेपाल, विश्वनाथ विष्ट, विष्णुप्रसाद पौडेल, हरिप्रसाद अधिकारी लगायतले प्रतिष्ठानको गठन र यसको उद्देश्यबारे सबैलाई जानकारी गराउनुभएको बताउनुभयो।
स्मरण रहोस्, कञ्चनपुरको पुनर्वास क्षेत्रमा साहित्यिक उन्नयनमा ज्योति पुस्तकालय तथा नवज्योती साहित्यिक मासिक पत्रिकाको पनि महत्त्वपूर्ण योगदान रहँदै आएको छ।
साथै, प्रतिष्ठानको सल्लाहकार समितिको संयोजकमा गणेश दत्त न्यौपाने चयन हुनुभएको छ। पाँच सदस्यीय यस समितिमा विश्वनाथ विष्ट, भद्रकृष्ण रिमाल, र सूर्य प्रसाद पौडेल सदस्यका रूपमा रहनुभएको छ।










Discussion about this post