कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८, महेन्द्रनगर कटानमा अवस्थित महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) देशभरकै उत्कृष्ट विद्यालय घोषित भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा नेतृत्व, प्रतिबद्धता र नवीन पहलमार्फत सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेको भन्दै यो विद्यालयलाई उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गरेको छ।
शुक्रबार पोखरामा आयोजित एक समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सभापति अमर बहादुर थापाले विद्यालयका अध्यक्ष बिरेन्द्रराज विष्टलाई प्रमाणपत्रसहित पुरस्कार हस्तान्तरण गरे। पानका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार, प्राडा विद्यानाथ कोईराला नेतृत्वको मूल्यांकन समितिले २५ वटा शैक्षिक मापदण्डका आधारमा यो विद्यालयलाई छनोट गरेको हो।
हजारौं विद्यार्थी अध्ययनरत महेन्द्रनगर नमुना माविले शैक्षिक गुणस्तरमा निरन्तरता कायम राख्दै आएको छ। पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले यो सफलता विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक र समुदायको मेहनत र सहयोगको परिणाम भएको बताए। उनले शिक्षक, अभिभावक, विद्यार्थी र समुदायप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा शिक्षा सुधारका नवीन कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।










Discussion about this post