कञ्चनपुरः जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका समुदायहरूलाई सशक्त बनाउन कञ्चनपुरमा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाको आयोजनामा चार दिने तालिम सुरू गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने र अधिकतम् तापक्रम पनि सामान्यभन्दा उच्च हुने पूर्वानुमान गरेको अवस्थामा बाढी, डुबान, गर्मी लहर जस्ता प्राकृतिक जोखिमहरू अझ बढ्न सक्ने सम्भावना रहेकोले परियोजनाले समुदायको क्षमता अभिवृद्धिका लागि तालिमहरूको आयोजना गर्दै आएको छ।
तालिमको उद्घाटन गर्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले विपद्का बेला दुर्घटनामा परेका व्यक्तिहरूलाई समयमै प्राथमिक उपचार दिन सकिएमा ज्यान जोगाउन सकिने उल्लेख गर्नुभयो। उहाँले समुदायमै यस्तो सीप विकास गर्नु दीर्घकालीन सुरक्षाको आधार हुने भन्दै स्थानीय स्तरमै प्रतिकार्य क्षमता विस्तार गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो।

जलवायु उत्थानशिल समुदाय परियोजनाका संयोजक महेश घिमिरेले परियोजनाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सक्षम बनाउन विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले यो प्राथमिक उपचार तालिमजस्तै व्यवहारिक तालिमहरूले समुदायमा विपद् व्यवस्थापनको सीप मात्र नभई, विपद् आउँदा मानवीय क्षति न्यूनिकरणमा समेत योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
तालिमका प्रशिक्षक तथा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख मनोज उप्रेतीले यो प्राथमिक उपचार तालिममार्फत जोखिममा रहेका समुदायहरूले विपद् आइपरेको बेलामा तदारुकताका साथ पहिलो सहयोग दिन सक्ने क्षमता विकास हुने बताउनुभयो। उहाँले व्यवहारिक अभ्यासमार्फत सिकाई प्रभावकारी बनाइँदै गएको भन्दै यस्तो तालिम विपद्का बेला मात्र नभएर हाम्रो दैनिक जीवनमा समेत अत्यन्त उपयोगी हुने धारणा राख्नुभयो।
तालिममा सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, विपद्का बेला घाइतेहरूको प्राथमिक उपचार, आपतकालीन अवस्थामा प्रतिकार्य गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण गरिनेछ।
जलवायु उत्थानशिल समुदाय परियोजनाले यसअघि पनि पूर्वसूचना कार्यदल र खोज तथा उद्धार कार्यदललाई तालिम प्रदान गरिसकेको छ। यसै क्रममा सञ्चालन भएको आधारभूत प्राथमिक उपचार तालिमले स्थानीय समुदायको क्षमता विकास गरी समग्र विपद् व्यवस्थापनमा योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।









Discussion about this post