कञ्चनपुर । गत वर्षको बाढीले भत्काएको कञ्चनपुरको झर्नाखोलाको पुल एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। २०८१ असारको तेस्रो साता आएको बाढीले बेलडाँडी गाउँपालिका–१ स्थित हुलाकी राजमार्ग हुँदै सरस्वती माध्यमिक विद्यालय, झर्नासागर टोल जोड्ने पुल भत्काएको थियो।

देशमा स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहका सरकार भए पनि यो पुल पुनर्निर्माणमा कसैले चासो देखाएका छैनन्। पुल भत्किएपछि ठुला सवारी साधन चल्न नसके पनि स्थानीयवासी जोखिम मोलेर भत्किएको पुलबाटै पैदल र साना सवारी साधन (साइकल, मोटरसाइकल) मार्फत आवतजावत गर्न बाध्य भएका छन्।
बयल गाडा, अटो, जिप, ट्र्याक्टर, ट्रकजस्ता ठुला सवारी साधन सञ्चालन हुन नसक्दा स्थानीयले लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। पुल भत्किएपछि स्थानीयदेखि विद्यार्थीसम्मलाई विद्यालय आउन–जान सास्ती भएको छ। स्थानीयले पटक–पटक वडा, पालिका, प्रदेश र सङ्घीय जनप्रतिनिधिसँग पुल पुनर्निर्माणका लागि माग गरे पनि कुनै पहल नभएको उनीहरूको गुनासो छ।
स्थानीय सुरेन्द्र देउवाले पुल भत्किएपछि दैनिक कामकाजका लागि यात्रा गर्न कठिन भएको बताए। ‘एक वर्षअघि पुल भत्कियो, तर सरकारले बनाएको छैन। तैपनि सर्वसाधारणदेखि विद्यार्थी जोखिम मोलेर यही भत्किएको पुल प्रयोग गर्न बाध्य छन्,’ उनले भने, ‘आउँदो वर्षातमा पुल थप भत्किन सक्छ र यात्रु जोखिममा पर्न सक्छन्।’

अर्की स्थानीय रिना लुहारले अति आवश्यक पुल निर्माणमा सरकारले चासो नदेखाउनु दुःखद भएको बताइन्। पुल भत्किएपछि विद्यार्थी सबैभन्दा बढी जोखिममा छन्। धेरै सङ्ख्यामा एकै पटक सामूहिक यात्रा गर्ने विद्यार्थीको चापले भत्किएको पुल थप कमजोर भएर दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ।
बेलडाँडी गाउँपालिकाले स्थानीय स्रोतबाट पुल निर्माणका लागि बजेट नभएको भन्दै प्रदेश र केन्द्र सरकारसँग माग गर्दा पनि सुनुवाइ नभएको जनाएको छ। गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गज बहादुर विष्टले बाढीले भत्काएको संरचना पुनर्निर्माणका लागि प्रदेश सरकारसँग योजना माग गरिएको बताए। ‘हामीले त भत्किएकै समयदेखि माथिल्ला सरकारलाई जानकारी गराइसकेका थियौँ, तर यस वर्ष कुनै बजेट आएन। आउँदो वर्ष बनाउने आश्वासन पाएका छौँ,’ उनले भने, ‘पुलको दायाँबायाँ भत्किएको क्षेत्रमा तटबन्ध निर्माणका लागि हामीले सडक बोर्डबाट पहल गरेका छौँ।’
गत वर्षको बाढीले पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा भत्किएको पुललगायत केही सामान्य पुल पुनर्निर्माण भए पनि जिल्लाभर दोधारा चाँदनी, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी र लालझाडी क्षेत्रका धेरै पुल अझै पनि भत्किएकै अवस्थामा छन्। जताततै जनता सरकारको उदासीनता देखेर हैरान भएका छन्।
Discussion about this post