कञ्चनपुर – वेदकोट नगरपालिकाका दस वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित यो शिविर चैत २१ गतेदेखि सुरु भएको हो। स्थानीय बासिन्दालाई आँखा सम्बन्धी समस्याको पहिचान र उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले नगरवासीको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शिविरको पहिलो दिन चैत २१ गते वडा नम्बर -१ मा, २२ गते वडा नम्बर -३ मा र २३ गते वडा नम्बर -४ मा सम्पन्न भइसकेको छ। त्यसैगरी, आगामी दिनहरूमा चैत २५ गते वडा नम्बर -२, २६ गते वडा नम्बर -५, २७ गते वडा नम्बर -६, २८ गते वडा नम्बर -७, २९ गते वडा नम्बर -८, ३० गते वडा नम्बर -९ र ३१ गते वडा नम्बर -१० मा शिविर सञ्चालन हुने वेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिएका छन्।

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो शिविरले ग्रामीण क्षेत्रका बासिन्दालाई घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए। उनले भने, “हाम्रा नागरिकले आँखा सम्बन्धी समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन र निःशुल्क सेवा उपलब्ध गराउन यो पहल गरेका हौँ।”
धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले शिविरमा आँखाको सामान्य चेकजाँचदेखि जटिल रोगहरूको पहिचान र उपचारसम्मको व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “हामीले मोतीबिन्दु, जल विन्दु जस्ता रोगको निःशुल्क उपचार र औषधि वितरणको व्यवस्था गरेका छौँ। यो सहकार्यले धेरैको जीवनमा उज्यालो ल्याउने विश्वास छ।”
वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले शिविरमा आँखाको चेकजाँच, मोतीबिन्दु र जल विन्दुको निःशुल्क उपचार, नजिकको चस्मा वितरण र औषधि निःशुल्क उपलब्ध गराइने बताइन्। “मोतीबिन्दु र जल विन्दु भएका बिरामीका लागि एकतर्फी गाडी भाडा पनि प्रदान गरिनेछ,” उनले थपिन्।
शिविरले स्थानीय बासिन्दालाई आँखा सम्बन्धी समस्याबाट मुक्ति दिलाउन र उनीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
