कञ्चनपुर । नेपाल र भारतबिचको टनकपुर–ब्रह्मदेव नाकालाई धार्मिक नाकाको रूपमा विकास गर्नुपर्ने आवाज उठेको छ। शुक्रवार ब्रह्मदेवमा दुई देशका अधिकारी र स्थानीयबिच भएको छलफलमा यो नाकालाई धार्मिक पर्यटनको केन्द्र बनाउने प्रस्ताव अगाडि सारिएको हो। स्थानीयले टनकपुर र ब्रह्मदेवलाई धार्मिक मार्गको रूपमा विस्तार गरी नेपाल–भारतबिचको सम्बन्ध थप बलियो बनाउनुपर्ने बताएका छन्।

भारतको उत्तराखण्डमा रहेको पूर्णा गिरि मन्दिर र नेपालको सुदूरपश्चिममा रहेका ब्रह्मदेव सिद्धनाथ तथा महेन्द्रनगर सिद्धबाबा मन्दिर दर्शनका लागि वर्षौँदेखि तिर्थालुहरू आवतजावत गर्छन्। तर, टनकपुर बाँधसँगै बनेको पुलमा चार पाङ्ग्रे सवारी सञ्चालन नहुँदा समस्या झेल्नुपरेको छ। तीन दशकअघि बनेको यो पुलमा हाल पैदल यात्री, साइकल र मोटरसाइकल मात्र चल्न दिइएको छ, जसले धार्मिक, पर्यटकीय र व्यापारिक गतिविधिलाई प्रभावित गरेको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले भारतीय पक्षले पुल सञ्चालनमा ढिलाइ गरेको गुनासो गरे। “महेन्द्रनगरदेखि टनकपुरसम्म १३ किलोमिटर लिङ्क रोड बनेको छ, तर पुल सञ्चालन नहुँदा फाइदा लिन सकिएको छैन,” उनले भने, “यो नाकालाई त्रिदेशीय मार्गको रूपमा पनि विकास गर्न सकिन्छ, तर भारतीय पक्षको सहयोग जरुरी छ।”
गत फागुनको सुदूरपश्चिम महोत्सव र चैतमा देहरादुनको व्यापार मेलामा उत्तराखण्डका मन्त्री सतपाल महाराज र मुख्यमन्त्री पुष्कर सिंह धामीसँग छलफलपछि भारतीय सिँचाइ विभागले सम्भाव्यता अध्ययन गरेको उनले बताए।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशव सिंह नायकले पूर्णा गिरि दर्शनपछि सिद्धनाथ मन्दिर पुग्नुपर्ने धार्मिक मान्यताका कारण भारतीय तिर्थालुहरू नेपाल आउने गरेको बताए। “तर, चार पाङ्ग्रे सवारी नचल्दा धेरै तिर्थालु फर्किन्छन्, जसले ब्रह्मदेवको व्यापार र पर्यटनमा असर परेको छ,” उनले भने। उनले दुवै देशका सरकारले यो नाकालाई सहज बनाउन पहल गर्नुपर्ने माग राखे।
ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले धार्मिक पर्यटकका लागि नाका खुला हुनुपर्ने बताए। यस्तै, नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष कृष्णप्रसाद पाठकले पूर्णा गिरि मेला र नवरात्रिमा दुवै देशका तिर्थालुको आवागमन हुने भएकाले नाकालाई धार्मिक मार्ग बनाउनुपर्नेमा जोड दिए। “मेरो तर्फबाट पहल गर्छु, तर प्रदेश र केन्द्र सरकारको साथ चाहिन्छ,” उनले भने।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले गड्डाचौकी र ब्रह्मदेवका पुल २४सै घण्टा खुला हुनुपर्ने बताए। “पुल बन्द हुँदा आर्थिक र सामाजिक गतिविधि प्रभावित छन्,” उनले भने।
भारतको उत्तराखण्ड सिँचाइ विभागका प्रमुख इन्जिनियर सञ्जीव कुमार श्रीवास्तवले स्थानीयको मागबारे आफ्नो टोलीले मन्त्री र प्रदेश सरकारलाई जानकारी गराउने प्रतिबद्धता जनाए। “हामीले यहाँको कनेक्टिभिटीको अनुगमन गरेका छौँ, हाम्रो स्तरबाट हुने काम गर्छौँ,” उनले भने, “नाका २४सै घण्टा खुल्दा दुवै देशलाई फाइदा हुन्छ।”

टनकपुर–ब्रह्मदेव नाकालाई धार्मिक मार्ग बनाउन स्थानीयदेखि सरकारी तहसम्मको सहकार्य जरुरी देखिएको छ।