कञ्चनपुर कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सोह्रौँ गाउँ सभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा गाउँपालिकाको सभा हलमा मंगलवार आयोजित हिउँदे अधिवेशनबाट चालू आर्थिक वर्ष २०८१÷०८२ को साउनयता कार्यपालिका बैठकमा भएका निर्णयहरू अनुमोदन गरिएको बताइएको छ ।
अधिवेशनले ऐन, कानुन, कार्यविधि र मापदण्ड निर्माणमा विशेष प्राथमिकता दिएको पालिका अध्यक्ष रानाको भनाइ छ । ग्रामीण विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित योजना अघि सारिएको अध्यक्ष रानाले बताउनु भएको छ ।अधिवेशनमा गाउँपालिकाले कानुनी संरचना सुदृढीकरण र व्यवस्थापनमा अग्रसरता देखाएको अध्यक्ष रानाले जानकारी दिनुभयो । अध्यक्ष रानाले पालिकाको सामथ्र्य र क्षमताले भ्याएसम्म स्थानीय आवश्यकता अनुरूप नीति निर्माण र कार्यान्वयनको पहल गरिएको दाबी गर्नुभयो ।
गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐरले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आन्तरिक आय र राजस्व वृद्धिका लागि नवीन विकल्पहरू खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक श्रोत व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै पक्षले योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राजस्व संरचनाको हेरफेर र सुधार गर्न सकेमा मात्रै गाउँपालिकाले दीर्घकालीन आर्थिक योजना तय गर्न सक्ने छ । सभाले स्थानीय तहको क्षेत्राधिकार र आवश्यकतालाई प्राथमिकता दिँदै विभिन्न ऐन, कार्यविधि र मापदण्ड निर्माण तथा कार्यान्वयनका लागि सहमति जनाएको छ ।

