कञ्चनपुर । आर्थिक समृद्धिका लागि कञ्चनपुरमा अलपत्र परेका औद्योगिक विकास पूर्वाधारका योजना अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शनिबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण, आयात निर्यातका समस्या न्यूनिकरणका लागि कोसेली घर स्थापना सम्बन्धी अन्तरकृया कार्यक्रममा सरोकारवालाले आर्थिक समृद्धिका लागि कञ्चनपुरमा अलपत्र परेका औद्योगिक विकास पूर्वाधारका योजना अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन्।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर प्रसाद बोहराले जिल्लामा आर्थिक विकससँग सम्बन्धित केही योजना सञ्चालनका विषयमा तीनै तहका जनप्रतिनिधि, सासद, मन्त्री एव प्रत्यक्ष सरोकारवालासँग छलफल गरेको बताए । ‘हामीले कञ्चनपुरको विकासका लागि वाणिज्य सङ्घले उठान गर्दै आएका योजना सञ्चालनका लागि हामीले स्थानीयदेखि प्रदेश केन्द्रका जनप्रतिनिधि, सरोकारवालासँग संयुक्त छलफल गर्दै उहाँहरूको धारणा बुझेका छौँ, ‘उनले भने, ‘सबै पक्षबाट सकारात्मक धारणा आएको छ ।’
कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले जिल्ला मात्रै नभई प्रदेश सिङ्गो देशको विकासका लागि दोधाराचाँदनीमा बन्ने भनिएको सुक्का बन्दरगाह निर्माण, दैजी छेला औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताए । ‘यि दुई योजनाले पश्चिमबाट देशको विकासको ढोका खुल्छ, ‘उनले भने, ‘दुवै योजना कार्यान्वयन नहुँदा हामी विकासबाट पछाडि धकेलिएका छौँ ।’
भारतको राजधानी दिल्लीसँग जोड्ने पश्चिमी नाका कञ्चनपुर नजिकको दूरी भएपनि सुक्खा बन्दरगाह नहुँदा बस्तु निर्यात आयातमा समेत समस्या भइरहेको अध्यक्ष जोशीले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा सुप प्रदेश सरकारका निवर्तमान आर्थिक मालिला मन्त्री प्रकाश बहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीर बहादुर थापा (पातल), सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहितले यथाशीघ्र दोधाराचाँदनीमा सुक्खा बन्दरगाह र दैजीमा छेला औद्योगिक क्षेत्रको योजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले उक्त योजना कार्यान्वयनका लागि आ–आफ्नो तहबाट पहल प्रयास भइरहेको जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुक्का बन्दरगाह निर्माण कार्यदेखि औद्योगिक क्षेत्र विकासको योजना अघि बढिरहेको बताए । सरकारले उक्त दुवै योजनालाई प्राथमिकतामा राखेर कामकाज अघि बढाएको बताएका छन् । कञ्चनपुरका उद्योगी, व्यवसायीहरूले हरेक चुनावमा दल, तिनका उम्मेदवारले उक्त दुवै योजना आफ्नो चुनावी घोषणा पत्रमा राखेपनि चुनाव जितेपछि वास्ता नराख्ने प्रवृत्तिले योजनाले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । आर्थिक बृद्धि विकासका लागि भाषण नभई बस्तु तथा सेवाको उत्पादन निर्यातमा जोडदिदै, त्यसतर्फ राजनीतिक दलले समेत ध्यान दिनुपर्नेमा बताएका छन् ।