कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -६ ले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ। दशैं अगाडिदेखि नै भीमदत्त -६ ले वडामा सरसफाइ अभियान सञ्चालन गरिरहेको छ।
सरसफाइ कार्यक्रम अन्तरगत आज आइतबार कालिका टोलमा सरसफाइ गरिएको भीमदत्त -०६ का कार्यवाहक वडा अध्यक्ष देवकी जोशीले जानकारी दिनुभएको छ। जनचेतनाको कार्यक्रमहरूलाई अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको वडा अध्यक्ष जोशीले बताउनुभयो।
वडामा सरसफाइका कार्यक्रमहरूलाई वडा कार्यालयले तिव्रता दिएको छ। सरसफाइका साथै सडक वरपरको झाडी कटान गरिएको वडा अध्यक्ष जोशीले बताउनुभएको छ। साथै उनले सडकमा गाई वस्तु छाड्ने, फोहोर फाल्ने जस्ता कार्य नगर्न वडाबासीलाई अनुरोध समेत गर्नुभएको छ।
उहाँले भन्नुभयो ‘फोहोर व्यवस्थापन गर्न सबैले आआफ्नो तर्फबाट हातेमालो गर्न अति आवश्यक छ। सडकमा फोहोर फाल्ने, गाईबस्तु बाँध्ने कार्य नगर्न हामीले आफैबाट सुरुवात गर्न आवश्यक छ।’ आगामी दिनमा पनि सरसफाइका कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष जोशीको भनाई रहेको छ।