कञ्चनपुर – महेन्द्रनगरमा पहिलोपटक निःशुल्क थिएटर कार्यशाला सम्पन्न गरिएको छ। मण्डला नाटक घरको मातहतमा नाटक प्रशिक्षक पिङ्की बोहराले असोज १ गते देखि १५ गतेसम्म भीमदत्त नगरपालिकाको हलमा थिएटर कार्यशाला सञ्चालन गरेकी थिइन्।
मङ्गलबार महेन्द्रनगरस्थित मदन चोकमा नाटक प्रदर्शन गर्दै थिएटर कार्यशाला सम्पन्न गरिएको हो। १५ दिनसम्म चलेको उक्त कार्यशालामा थिएटर र अभिनयबारे प्रशिक्षण गरिएको नाटक प्रशिक्षक बोहोराले जानकारी दिइन्।
सुदूरपश्चिमका कलाकारिता क्षेत्रमा लागेका युवाहरूलाई सिक्ने अवसर प्रदान गर्न उक्त कार्यशाला सञ्चालन गरिएको प्रशिक्षक बोहराले बताइन्। उनले भनिन ‘सुदूरपश्चिममा कलाकारिता क्षेत्रमा सपना देखेका युवाहरूलाई थप हौसला प्रदान गर्न एवम् विविध कुराहरू सिकाउन यो कार्यशाला सञ्चालन गरेका हौँ। निःशुल्क रूपमा हामिले यो कार्यशाला सञ्चालन गरेका थियौ, जसमा ५ जना सहभागि भएका थिए। आगामी दिनमा पनि यस्ता सिकाईमूलक कार्यक्रमहरू सञ्चालन गर्ने मेरो प्रयास रहने छ।‘ साथै सुदूरपश्चिममा कलाकारिता क्षेत्रमा लागेका व्यक्तिहरूले सङ्गठित हुनुपर्ने उनको भनाई रहेको छ।
कला तथा साहित्यमा रुचि राख्ने पिङ्की बोहरा नेपालको कविता रियालिटी सो ‘द पोयट आइडल’ मा दशौं स्थानसम्म पुग्न सफल भएकी थिइन्।