
दक्षिण कोरियासँग समूह ’एच’को अन्तिम खेलमा २–१ गोलको नतिजामा पराजित भए पनि पोर्चुगल समूह विजेता बनेको छ। सुरुआती दुई खेलमा जितसहित एक खेल अगावै अन्तिम १६ मा पुगिसकेको पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि समूह ’जी’को उपविजेतासँग खेल्ने छ।
समूह ’एच’को पहिलो खेलमा घानालाई ३–२ गोलको नतिजामा पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेलाई २–० ले हराएको थियो। आजको खेलमा हार टार्न नसक्दा पोर्चुगल अपराजित रहँदै प्रि–क्वार्टरफाइनलमा पुग्न असफल भएको हो।

शुक्रबार राति इजुकेसन सिटी रंगशालामा भएको खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। डिएगो डालोटले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका होर्टाले उत्कृष्ट फिनिसिङ गर्दै पोर्चगललाई अग्रता दिलाएका थिए।

तर, योङ ग्वोन किमले गरेको गोलसँगै दक्षिण कोरियाले बराबरी गरेको थियो। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत क्लियर गर्न खोजेको बल किमको खुट्टामा पुगेको थियो। सोही मौकाको सदुपयोग गर्दै उनले दक्षिण कोरियालाई बराबरीमा फर्काए।
दोस्रो हाफमा बल पोसेसनमा हाबी बनेको पोर्चुगलले अवसर सिर्जान गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन। समूह चरण पार गर्न पोर्चुगललाई हराउनै पर्ने दबाबमा रहेको कोरियाले काउन्टर अट्याकमा केही मौका बनाए पनि पोर्चुगिज रक्षापंक्ति छिचोल्न सकेको थिएन।
तर, इन्जुरी समयमा कोरियाका ही चान ह्वाङले गरेको गोलसँगै दक्षिण कोरिया विजयी भएको हो। जितसँगै कोरिया १२ वर्षपछि नकआउट चरणमा पुगेको छ। यसअघि सन् २०१० मा कोरियाले समूह चरण पार गरेको थियो। अन्नपूर्ण पोस्ट बाट सभार
